विराटनगर, १३ साउन- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको समृद्धिको आधार तयार हुने गरी विकास निर्माणको कार्य थालनी हुनुपर्ने बताउनुभएको छ ।
प्रदेश नं १ भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय आर्थिक वर्ष २०७४÷७५ को आज यहाँ आयोजित प्रगति समीक्षा बैठकमा उहाँले छोटो अवधिमा विभिन्न कठिनाइ र अभावबीच पनि सडक, पुल, भवन, रंगशाला, सिँचाइ र खानेपानी योजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गर्न सफल भएकामा प्रशंसा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले सडक वर्गीकरण गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिँदै आगामी पाँच वर्षभित्र प्रदेशका सडकमा कालोपत्र देखिने गरी बजेट कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो ।

