समानुपातिकतर्फको परिणाम घोषणामा गर्न ढिला हुने भयोः निर्वाचन आयोग

काठमाडौं,२ पुस–  प्रदेश र प्रतिनिधिसभाको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम घोषणामा ढिलाइ भएको छ । आयोगको लक्ष्य अनुसार गणनाले गति लिन नसकेपछि परिणाम घोषणामा केही ढिलाइ भएको हो ।
समानुपातिकतर्फ अब सर्लाहीको १ क्षेत्रको मात्रै गणना बाँकी छ । आयोगका अनुसार, चिसोका कारण हिजो रोकिएको गणना आज बिहानैदेखि सुरू भएको छ । प्रत्यक्षतर्फको गणना बुधबार नै सकाएको र सर्लाहीको गणना सकिएलगत्तै समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भएको आयोगको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मतगणनाको पछिल्लो परिणाममा एमाले ४९ हजार ६५२ मतको अन्तर अग्रता कायम राखेको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार, नेकपा एमाले ३१ लाख ६३ हजार १२१ मत हासिल गर्दा नेपाली कांग्रेस ३१ लाख १५ हजार ४६४ मतका साथ उसलाई पछ्याइरहेको छ । माओवादी केन्द्रको पक्षमा हालसम्म १२ लाख ९७ हजार ११४ मत परेको छ ।
समानुपातिकतर्फको गणनामा सुरूदेखि नै राष्ट्रिय जनता पार्टी नेपाललाई पछि पारेको संघीय समाजवादी फोरम नेपाल गणना अन्तिम चरणमा आइपुग्दा पछि परेको छ । अन्तिम परिणाममा राजपा चार लाख ७२ हजार २०७ मत पाएको छ भने संघीय समाजवादी फोरमको पक्षमा चार लाख ६९ हजार ९९३ मत परेको निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here