काठमाडौं,४ पुस– सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सरकार निर्वाचनद्वारा अभिव्यक्त जनमतको उच्च कदर गर्दै संवैधानिक प्रक्रिया पूरा गरेर शीघ्रातीशीघ्र सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताउनुभएको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले मुलुकको समसामयिक राजनीतिक विषयमा सरकारको धारणा स्पष्ट पार्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
मन्त्री बस्नेतले भन्नुभयो, “प्रधानमन्त्री शेरबहादुर देउवाले विधिसम्मत् ढंगले सत्ता हस्तान्तरणमा पटक पटक देखाउनुभएको आतुरताका अभिव्यक्ति सञ्चार माध्यममा आइरहँदासमेत अनेकन दूराशय र संशयपूर्ण अभिव्यक्ति आउनु सबैका लागि दुःखलाग्दो विषय हो ।”
स्थानीय तहको दोस्रो र तेस्रो चरणको निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउने कार्यभारसहित सरकारले गत जेठ २३ गते जिम्मेवारी लिएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “सरकारले दुवै निर्वाचन शान्तिपूर्ण र स्वच्छ ढंगले सम्पन्न गराएको छ ।”
निर्वाचनलाई लिएर केही राजनीतिक दलका नेताबाट निर्वाचन हुने अघिल्लो दिनसम्म पनि चुनावप्रति संशय र षड्यन्त्रसहितका अभिव्यक्ति आउनु दुःखद पक्ष भएको मन्त्री बस्नेतको टिप्पणी थियो ।
उहाँले विविध खाले आरोह र अवरोह, सीमित समयावधि र साधन स्रोत, भौगोलिक कठिनाइ, मौसमी प्रतिकूलता र आशंकाबीच समग्रमा सफलताका साथ निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
सरकारका प्रवक्ता एवं मन्त्री बस्नेतले संविधानको अक्षरशः पालना गरिने विश्वास दिलाउँदै संविधान विपरीत कसैलाई कुनै पनि काम गर्न नदिइने दृढता व्यक्त गर्नुभयो ।
उहाँले सरकारले राष्ट्रियसभा निर्वाचनको ऐन मस्यौदा गरी विधेयकका रूपमा व्यवस्थापिका–संसद्समक्ष पेश गरेको तर राजनीतिक दलहरु सहमत हुन नसक्दा पारित हुन नसकेको जानकारी गराउनुभयो ।
मन्त्री बस्नेतले निर्वाचन आयोगबाट समानुपातिकतर्फ प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँड गरी व्यक्तिसमेत यकिन भएपछि संसदीय परम्पराअनुरूप सरकार गठनको प्रक्रिया थालनी हुने बताउनुभयो ।

