काठमाडौं, ३१ जेठ – राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागि गराउन शीर्ष दलहरुले आज पनि वार्ताको प्रयास जारी राख्ने भएका छन् । निर्वाचन छोडी आन्दोलमा होमिएको राजपालाई सहमतीमा ल्याउन प्रमुख प्रतिपक्षी एमालेसहित सत्ता गठनबन्धनले आज निर्णायक वार्ता गर्ने भएका हुन् ।
स्थानीय तह दोस्रो चरणको निर्वाचन विथोल्ने गरी आन्दोलन थालेको राजपासँग सत्ता गठबन्धन र विपक्षी एमालेले आज दिउँसो ४ बजे निर्णायक वार्ता गर्ने माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिनुभयो । उहाँले रापजाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता जनाएमा, उसले उठाएका मागबारे सहमतिमा पुग्ने प्रयास भइरहेको बताउनुभयो ।
यसअघि हिजो राजपालाई कसरी निर्वाचनमा सहभागि गराउन सकिन्छ भन्ने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको थियो । राजपाले चुनावमा सहभागी हुने लिखित प्रतिबद्धता जनाए प्रदेश नं। २ र ५ को चुनाव फेरि सार्न सकिने सत्तारुढ दलहरुको संकेत छ । शीर्ष दलको बैठकले आज अपरान्ह राजपासहित संयुक्त बैठक बसी यस विषयमा थप छलफल गर्ने निर्णय गरेका थिए ।
असार १४ का लागि तोकिएको स्थानीय तह दोस्रो निर्वाचनको मिति नजिकिदै जाँदा आन्दोलन थालेको राजपालाई सहमती ल्याउन दलहरु निरन्तर छलफलमा जुटिरहेका छन् । तर राजपाले भने संविधान संशोधन लगायतका मुद्धामा लिखित सहमती नभएसम्म निर्वाचनमा भाग नलिने बताउदै आएको छ ।

