काठमाडौं, १३ जेठ–सरकारले प्रधानन्यायधीश सुशिला कार्कीमाथि लगाएको महाअभियोग प्रस्ताव फिर्ता लिने भएको छ ।
सभामुखको आह्वानमा आज बसेको मुख्य ३ दलको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिने प्रतिबद्धता जनाउनुभएको बैठकमा सहभागी नेताले जनाएका छन् ।
प्रधानमन्त्रीले चुनावमा भएको धाँधलीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । बैठकमा प्रधानमन्त्रीले टिकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने निर्णय नगरेको भन्दै दोषीमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीको प्रतिबद्धतासँगै नेकपा एमालेले संसदको अवरोध हटाउने जनाएको छ प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठ, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको सहभागिता रहेको थियो ।

