म्याग्दी, १३ साउन- म्याग्दीका ग्रामीण सडकमा भएको लगानी खेर गएको छ । करोडौं लगानी गरेर हिउँदमा ट्र्याक खोलिएका र स्तरोन्नति गरिएका सडकमा बर्खासँगै सवारी अवरुद्ध भएका छन् ।
भिरालो जमीनमा एक्साभेटर, ब्याकलोडर जस्ता उपकरण प्रयोग गरेर जथाभावी खनिएका सडकमा बाढी र पहिरोको जोखिम बढेको छ । सडक बनाउने नाउँमा जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेको बेनपा–६ अर्थुङ्गेका छविलाल उपाध्यायले बताउनुभयो ।
“हिउँदभरी जथाभावी भित्तो भत्काइयो, माटोको व्यवस्थापन र संरक्षण गर्न ध्यान दिएनन्,” उपाध्यायले भन्नुभयो “लाखौं खर्च गरेर बनाइएको सडक बर्खा लागेपछि हिलाम्मे बनेर गाडी त परै जाओस् पैदल हिड्न समेत समस्या छ । छेउछाउका बासिन्दा पहिरोको त्रासमा छन् ।”
बेनी नगरपालिकाले गत आर्थिक वर्षमा अर्थुङ्गे, थाकनपोखरी हुँदै भिरमुनि जोड्ने सडक डोजर परिचालन गरेर फराकिलो बनाएको थियो । स्थानीय तहले सडकमा प्राथमिकता दिएर बजेट लगानी गरे पनि सर्वसाधारणले सेवा सुबिधा पाउन नसकेको धवलागिरी गाउँपालिका–७ ताकमका चिरञ्जीवी पौडेलले गुनासो गर्नुभयो ।

