काठमाडौँ, २१ माघ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता संस्थागत गर्ने कार्यमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
काङ्ग्रेसको काठमाडौँ जिल्ला कार्यसमितिद्वारा आज यहाँ आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै उहाँले सङ्घीयताका लागि आवश्यक कानून निर्माण गरी जनअपेक्षा अनुसारका काम गर्न सरकारलाई सुझाव दिनुभयो ।
नेता सिंहले प्रतिपक्षी दलका नेताको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक बसेर गरिएका निर्णय संविधान र कानून विपरीत भएको जिकिर गर्नुभयो ।
सरकारले डा गोविन्द केसीसँग गरेको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक संसद्बाट जबर्जस्ती पारित गरेको आरोप लगाउँदै उहाँले चिकित्सा शिक्षाको गुणस्तर सुधारका लागि काङ्ग्रेसले अभियान जारी राख्ने बताउनुभयो ।

