काठमाडाैं, १९ चैत–विश्वमै अति दुर्लभ मानिएको सङ्कटापन्न हिमाली जीव हिउँचितुवा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको भन्दै संरक्षणकर्ताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
समुद्री सतहबाट तीन हजारदेखि पाँच हजार ५०० मिटर उचाइ बीचका हिमाली क्षेत्रको हरियाली नभएका चट्टाने पहाड तथा हिउँ पर्ने क्षेत्रमा बसोबास गर्ने ठूलो बिरालो प्रजातिको मांसाहारी जीव हो हिउँचितुवा ।
आकर्षक शरीर तथा शान्त स्वभावको यो जीव बाघभन्दा अलि सानो आकारको हुन्छ । हिमाली क्षेत्रको उच्च जाडोसँग पौँठेजोरी खेल्न यसको शरीर बाक्लो भुत्लाले ढाकिएको हुन्छ । शरीरभरिका सेतो तथा हल्का खैरो भुत्लाको पृष्ठभूमिमा देखिने काला थोप्लाले हिउँचितुवालाई थप आकर्षक बनाउँछ ।
यसको सरदर तौल ३५ देखि ५५ केजीसम्म हुन्छ भने करिब पाँच फिट लामो शरीरमा तीन फिट जति यसको पुच्छर नै हुने गर्छ । चट्टाने हिमशृङ्खलामा शिकार गर्न तथा शत्रुबाट बच्न कुशलतापूर्वक कुद्नुपर्ने भएकोले यसको लचकदार पुच्छरले शरीरलाई सन्तुलनमा राख्ने गर्छ ।
यसको आँखा नीलो वा हरियो रङको हुन्छ । नौ देखि ११ सेमी लामो र सात देखि आठ सेमी चौडा पञ्जाको सहायताले यो जीव मानिसको घुँडासम्म आउने बाक्लो हिउँमा पनि सजिलै हिँड्ने र कुद्ने गर्छ । फराकिलो टाउको, उठेको निधार, सानो थुतुनोे र नाकको प्वाल ठूलो हुने यस जीवको कान पनि छोटो र सानो नै हुन्छ । अाजकाे गाेरखापत्रमा खबर छ ।

