काठमाडौँ, ५ जेठ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले संस्कृति तथा कलाको विकास नभई देशको समग्र विकास नहुने बताउनुभएको छ ।
सांस्कृतिक संस्थान, मदन भण्डारी कला साहित्य प्रतिष्ठान तथा साहित्य सन्ध्याद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘समृद्धिका लागि साहित्य’ विषयक छलफलमा उहाँले भन्नुभयो, “जुन दिनसम्म साहित्य, कला तथा संस्कृतिको विकास हँदैन, त्यो बेलासम्म देश समृद्ध भएको मान्न सकिँदैन ।”
उहाँले नेपाली जनतालाई सुखी बनाउने मुलभूत उद्देश्य पूरा गर्न सामाजिक न्याय, बेरोजगारलाई रोजगारीको सिर्जना तथा गरिबी अन्त्यका लागि सरकार जुटिरहेको बताउनुभयो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले पुर्खाले हामीलाई छाडेर गएको कला, संस्कृति तथा अद्वितीय धरोहरबाट नै संसारभर नेपाललाई परिचित गराएको बताउँदै कला, संस्कृति तथा संगीतलाई जीवन्त राख्न क्रियाशील हनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मदन भण्डारी कला साहित्य प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बाले प्रगतिशील आन्दोलनमा जीवनभर योगदान दिएका साहित्यकार तथा कलासाधकहरुको पनि सम्मान हुनुपर्ने बताउनुभयो ।

