काठमाडौं,६ चैत– व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आज बस्ने संसद बैठकले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा अध्यक्षलगायतलाई सुविधा दिने सम्वन्धी विधेयक पारित गर्दैछ ।
कार्यसूचीमा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको प्रस्तावमा उक्त विधेयक दफावार छलफल र पारित गर्ने कार्यसूची छ ।
विधेयकले पूर्व राष्ट्रपतिलाई मासिक घरभाडा मात्र दुई लाख दिने प्रस्ताव गरेको छ । उपत्यकामा घर भएको हकमा मर्मत सम्भारका लागि मासिक एक लाख भाडा दिने प्रस्ताव विधेयकमा छ ।
अन्य पदाधिकारीले मासिक ७५ हजार घरभाडा पाउनेछन् । उपत्यकामा घर भएको हकमा मासिक मर्मत खर्च ३७ हजार पाँच सय पाउनेछन् । राष्ट्रपति र उपराष्ट्रपतिलाई अवकाशपछि मासिक क्रमश ५० र ४० हजार मासिक बृत्तिको प्रस्तावि पनि विधेयकमा छ ।
सामान्यतयाः विधेयकमा संशोधन दर्तापछि दफावार छलफलका लागि समितिमा पठाउने प्रचलन भए पनि विधेयकको दफावार छलफल पनि संसद्मै हुन लागेको हो ।
यसअघि सांसद्हरुको पारिश्रमिक बढाउने विधेयक पनि संसद्मै दफावार छलफल गरी फास्ट ट्रयाकमा पारित भएको थियो ।
संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकपछि संसद् केही दिनका लागि स्थगित गर्ने तयारी छ ।

