संसदमा नेता माधव नेपालले राष्ट्रभक्तिको गीत गाउँदा …..

काठमाडौँ, २२ फागुन-‘मेरो देश डुब्न लाग्यो किनार लगाइदेऊ, सपूत छौ कि कोई माझी बचाइदेऊ’ डा भोला रिजालले लेख्नुभएको यस गीतमा चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले स्वर दिनु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधनको सुरुमै पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले देशमा संकटकै स्थिति रहेको आफूलाई आभास भएर राष्ट्रभावबाट ओतप्रोत यही गीतको दुई हरफ प्रस्तुत गरेको सुनाउनुभयो ।

मुलुकलाई सधैँ अन्योलमा राखिएको र राजनीतिक खिचातानी मात्रै गरिएकाले जनताको अपेक्षा पूरा हुन नसकेको भन्दै नेता नेपालले भावपूर्ण शैलीमा भन्नुभयो, ‘अझै पनि देश डुब्न दिने हो भने हामी सबै डुब्छांै । कोही पनि बच्दैनौ ।’

नेता नेपालले भ्रष्टाचारको जालो तलदेखि माथिसम्म फैलिएकाले विकास निर्माणको काम समेत प्रभावित हुने गरेको तथा जनताले लामो समयसम्म कष्ट भोग्नु परेको गुनासो पोख्नुभयो ।

राजनीतिक स्थिरताको अभावमा मुलुकले आर्थिक समृद्धिको दिशा लिन नसकेको, रोजगारीको खोजीमा लाखौं युवा विदेशी भूमिमा भौतारिइरहनु परेको, एकाध वर्षमा सकिने विकास निर्माणको काममा वर्षौं लाग्ने गरेको, कोही कसैले पनि जिम्मेवारी नलिने प्रवृत्ति हावी भएको भन्दै वर्तमान सरकारले यी सबै अव्यवस्था हटाउनैपर्ने बताउनुभयो ।

नेता नेपालले अझै अगाडि बढेर अर्को गीत पनि प्रतिनिधिसभा बैठकमा सुनाउनुभयो । गायक शिशिर योगीको स्वर, डा विश्वनाथ बरालको रचना रहेको ‘म एउटा मानिस खोजिरहेको छु’ भन्ने गीत सुनाउँदा प्रतिनिधिसभाको बैठकमा सहभागी सांसद एकाग्र मात्रै बन्नुभएन देशमा मौलाएको अराजकता र दण्डहीनताको अन्त्यका विषयमा सोचमग्न बन्नुभएको थियो ।

नेता नेपालले विकास निर्माणको काममा संसदीय समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले अनावश्यक हस्तक्षेप गर्ने गरेको विगतको तितो अनुभव समेत सुनाउनुभयो ।

भ्रष्टाचारको जालो तोडेर, कानुनी एवम् प्रशासनिक संरचनामा परिवर्तन तथा विकास निर्माणमा काम भएको छ कि छैन भन्ने हेर्न अनुगमन संयन्त्र बनाउन वर्तमान सरकार क्रियाशील हुनैपर्ने नेता नेपालको सुझाव थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here