काठमाडौं,२० साउनःप्रतिनिधिसभाले नेपाली कांग्रेसका पूर्व सांसद एवं स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
५४ वर्षिय पंगेनीको ह्दयघातका कारण आज बिहान स्याङ्जास्थित निजी निवासमा निधन भएको हो । पंगेनी २०७० सालको संविधानसभामा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भोली दिउँसो २ बजेका लागि बोलाईएको छ । कांग्रेसले आजको बैठकमा संसदीय सुनुवाइ समितिको औचित्य र भूमिकाबारे बहस हुनु पर्ने माग गर्दै आवाज उठाउने तयारी गरेको थियो ।
यस्तै संसद सचिवालयले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक र लेखापरीक्षण विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।
स्याङ्जा जिल्ला सभापतिको निधनपछि सभामुख कृष्णबहादुर महरासंग बिहान गर्ने भनिएको छलफल समेत कांग्रेसले स्थगित गरेको थियो ।
गृहमन्त्री रामबहादुर थापासँग प्रतिप्रश्न गर्न नदिएको भन्दै रुष्ट कांग्रेसले गत बिहीवारको बैठक बहिष्कार गरेको थियो । सभामुख महराले प्रमुख प्रतिपक्षी दलको बहिष्कारका बीच बैठकको नियमित काम अघि बढाएपछि रुष्ट कांग्रेसले आज छलफल गर्ने बताएको थियो ।

