काठमाडौं, ३० फागुन । पछिल्लो समय तराईका विभिन्न जिल्लामा भएका घटनाको छानविन गर्न संसदिय टोली तराई जानेभएको छ ।
भारतीय सीमा सुरक्षा बलको गोलीबाट कञ्चपुरमा नेपाली युवकको मृत्यु भएको घटना छानबिन गर्न संसद्को मानवअधिकार तथा सामाजिक न्याय समिति स्थलगत निरिक्षणमा जाने भएको हो ।
सीमाक्षेत्रमा हुने घटना परराष्ट्र मन्त्रालय हेर्ने अन्तर्राष्ट्रिय सम्बन्ध समितीको क्षेत्राधिकारभित्र पर्ने भएपनि, मानव अधिकारको विषय सामाजिक न्याय समितीले हेर्ने भएकाले अध्ययनमा जाने भएको हो ।
मानव अधिकार समितिका सभापति सुशील श्रेष्ठले केहि दिनमै संसदीय उपसमिति घटनाको स्थलगत निरिक्षणमा जान लागेको बताउनुभयो ।
उहाँका अनुसार सप्तरी र कञ्चनपुर घटना छानबिनका लागि दुईवटा उपसमिति गठन गर्ने निर्णय भएको छ ।
सार्वजनिक बिदा परेकाले जान ढिला भएको भन्दै सभापति श्रेष्ठले तराई जानेविषयमा आजै निर्णय लिने बताउनुभयो । सीमाक्षेत्रमा भएका घटनाको छानबिन गर्नुपर्ने संसद्को अन्नर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्य भने एक साताको भारत भ्रमणमा छन् ।

