काठमाडौं,१७ बैशाख । संघीय संसद्को वर्षे अधिवेशन आजबाट सुरु हुँदैछ । यसलाई बजेट अधिवेशन पनि भन्ने गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेसँगै बजेट (वर्षे)अधिवेशन सुरु हुन लागेको हो । अधिवेशन अन्तर्गत पहिलो बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आव्हान सम्बन्धमा प्राप्त भएको पत्रको व्यहोरा पढेर सुनाउनुहुने संसद सचिवालयले जनाएको छ । योसँगै अधिवेशन सुरु हुनेछ ।
त्यसपछि संसदको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन हुने छ । सभामुख महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने संघीय संसद सचिवालयले जनाएको छ । हरेक अधिवेशनमा सभामुख, उपसभामुख, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने अध्यक्षमण्डलको चयन गरिँदै आइएको छ । आजको थप कार्यसूचीमा अघिल्लो अधिवेशन अन्त्य भएको मितिदेखि आजसम्म दिवंगत भएका पूर्व सांसदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक प्रस्ताव पारित गरिने उल्लेख छ ।
सचिवालयका अनुसार पूर्व सांसदहरु दिवाकर गोल्छा, रुद्रमणि शर्मा भण्डारी र रामकृष्ण ताम्राकारप्रति शोक प्रस्तावहरु पारित गरिनेछ । संघीय संसद सचिवालयका अनुसार यस अधिवेशनमा आगामी आर्थिक वर्षको बजेट तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, छलफल तथा पारित हुनेछ ।
नेपालको संविधानमा जेठ १५ गतेभित्रै संसदमा बजेट पेस गरिसक्नुपर्छ । त्यसअघि आगामी बैसाख २० गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । यता बजेट अधिवेशनका लागि प्रतिनिधिसभामा २७ र राष्ट्रियसभामा ८ विधेयक प्रस्तुत गर्ने तयारी भएको छ । यसअघि चैत ११ गते हिँउदे अधिवेशन अन्त्य गरिएको थियो ।

