संघीय संसदमा दुवै सदनको बैठक बस्दै,यस्ता छन् छलफलका विषय

web

काठमाडौं,६ जेठ । संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक विहान ११ बजेदेखि बस्ने भएको छ भने राष्ट्रिय सभाको बैठक दिउसो एक बजेदेखि बस्ने तय भएको छ । प्रतिनिधिसभाको बैठकमा अर्थ समितिद्वारा २०७६ वैशाख महिनामा आयोजित आ.व. २०७६÷७७ को पूर्व बजेट छलफल कार्यक्रम सम्बन्धी प्रतिवेदन समितिका सभापति कृष्ण प्रसाद दाहालले पेश गर्नुहुने छ ।

त्यसैगरी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट ‘महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदन, ‘नेपाल सरकारको आर्थिक वर्ष ७४÷७५ को सुशासन प्रतिवेदन’ ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको ७४÷०७५ को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकास सम्बन्धी विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि मिनेन्द्र प्रसाद रिजाल र प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रधानमन्त्रीकै तर्फबाट सो विधेयक प्रस्तुत हुने छ ।

आजको बैठकमा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक पनि प्रधानमन्त्री ओलीको तर्फबाट पेश हुने संसद सचिवालयले जनाएको छ । बैठकमा गृह मन्त्री रामबहादुर थापाले ‘प्रहरी समायोजन विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’ पेश गर्नुहुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here