श्रीयन्त्र पुज्दै सर्वोच्चमा स्वस्तिशान्ति

काठमाडौं,१८ वैशाख । शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए ।

८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए । फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो ।

मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर होम र पूजाआराधनामा व्यस्त रहे । धुप, बत्ती बालेर श्रीयन्त्रमा ध्वजा बाँधे । भट्टराई कछाडै बाँधेर गेरु वस्त्रमा दिनभरजसो पूजामा बसे । यता, जोशी भने दौरासुरुवालमा पत्नीसहित मण्डपमा उपस्थित थिए ।

यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू एवं कर्मचारीसमेत थिए ।

बुद्धजयन्तीको बिदाका दिन करिब ८ घण्टा न्याय र शान्तिको कामना गर्दै यज्ञ, होम र श्रीयन्त्रको पूजाआराधना गरिएको  छ ।
कामु प्रधानन्यायाधीश जोशीले न्याय जगेर्ना र न्यायपालिकामा विघ्नबाधा नपरोस् भनेर श्रीयन्त्र पुनःस्थापना गर्न लगाएका हुन् । सत्य, न्याय र शान्तिको प्रतीकका रूपमा न्याय क्षेत्रमा यसको महिमा छ । होम र पूजा सकेर सर्वोच्च परिसरभित्रै श्रीयन्त्रको रथजात्रा गरियो । त्यसपछि ज्योतिषीले जुराएको साढे ४ बजेको साइतमा सर्वोच्चको भवनमा अगाडिको आँखीझ्यालको टुप्पोमा श्रीयन्त्र पुनःस्थापित गरियो । अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here