काठमाडौँ, १४ जेठ- श्रमिकलाई आफूखुशी काम लगाउने र ज्याला दिने परम्पराको अब अन्त्य हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका लागि काम गर्ने समय र पारिश्रमिक निर्धारण गर्नुपर्ने नियमावली पारित गरेसँगै श्रमिकले तोकिएको समय र पारिश्रमिक पाउने बाटो खुलेको हो ।
सो नियमावली नहुँदा श्रमिक उच्च श्रम शोषणमा पर्दै आएका थिए भने उनीहरुको सुरक्षाकोसमेत प्रत्याभूत भएको थिएन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकका लागि काम गर्ने समय र पारिश्रमिक निर्धारण गर्नुपर्ने नियमावली आइतबार पारित गरेको थियो ।
नियमावलीको परिच्छेद ४ अन्तर्गत रोजगारदाताले प्रतिष्ठानमा कामको प्रकृतिको आधारमा काम गर्ने समयको निर्धारण गरी सोको जानकारी श्रमिकलाई गराउनुपर्ने व्यवस्था गरेको छ ।
त्यसैगरी सो दफाको उपनियम एक बमोजिम काम गर्ने समय निर्धारण गर्दा रोजगारदाताले प्रतिष्ठानको कामको प्रकृतिका आधारमा श्रमिकलाई आलोपालोमा काममा लगाउन सकिने गरी निर्धारण गरेको छ ।

