शीर्ष नेताले कहाँबाट मतदान गरे ?

काठमाडौं, १४ असार–प्रधानमन्त्री, सभामुख तथा दलका नेताहरुले आ–आफ्नो क्षेत्रमा पुगेर मतदान गरेका छन् । प्रदेश नम्बर १, ५ र ७ मा जारी दोश्रो चरणको स्थानीय तहको चुनाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट मतदान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले डडेल्धुराको गन्यामधुरा गाउपालिका १ को रुवाखोलामा रहेको असिग्राम मावि मतदान केन्द्रबाट मतदान गर्नु भएको हो । सभामुख ओनसरी घर्तिमगरले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गर्नुभयो । एमाले बरिष्ठ नेता, झलनाथ खनालले इलामको सूर्योदय नगरपालिकाको रम्फोक मतदान केन्द्रबाट भोट हाल्नुभयो ।

एमालेका उपाध्यक्ष भीम रावलले अछामको साँफेबगर नगरपालिका स्थित वडा नम्बर ६ मा रहेको चन्द्रोदय आधारभूत प्रावि केन्द्रबाट विहान ७ बजे नै मतदान गर्नुभयो । यस्तै एमालेकै उपाध्यक्ष बामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ८ को त्रिभुवन उच्च मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले ईलामको बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्र हाकिमटोलबाट मतदान गर्नुभयो, यस्तै काग्रेसका नेता केबी गुरुङले पनि सोही केन्द्रबाट मतदान गर्नुभयो । माओवादी केन्द्रका नेता तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गर्नुभयो ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गर्नुभयो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिकाको डिग्री क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभयो ।

कांग्रेस नेताहरु शेखर कोइराला तथा सुजाता कोइरालाले विराटनगर महानगरपालिकाको आदर्श विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । कांग्रेस नेता कृष्ण सिटौलाले भद्रपुर नगरपालिकाको कलबलगुडी मतदान केन्द्रबाट मतदान गर्नुभयो । आज, १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी जम्मा ३ सय ३४ स्थानीय तहमा चुनाव भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here