शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ, १३ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना साकार पार्न शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी बढाउने बताउनुभएको छ । निजी क्षेत्रबाट सञ्चालित नेशनल मेडिसिटी अस्पताल नेपालमा पहिलोपटक नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाइडर्स (एनए विएच) मा सूचीकृत भएको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले खुशी र सुखी हुनका लागि समृद्धि भएर मात्र पुग्दैन, स्वस्थ्य हुनुपर्छ   भन्नुभयो ।

राजनीति स्थायित्व पछि मुलुक आर्थिक समृद्धिको यात्रामा द्रुतरुपमा अगाडि बढेको चर्चा गर्दै उहाँले अब गरीबी र अभाव अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतान्त्रिक विधि र पद्धति, कानूनी शासन, जनताप्रति उत्तरदायी भई सरकार जनताको आर्थिक र सामाजिक जीवन माथि उकास्न लागिपरेको छ । गरीबी, पछौटेपन अन्त्य गर्न सरकार दृढ सङ्कल्प छ ।”

आर्थिक समृद्धिका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधिलगायत सबै क्षेत्रमा तीव्र विकास र परिवर्तन ल्याउन सरकारले चाहेको उल्लेख गर्दै उहाँले यसका लागि सार्वजनिक, निजी र सहकारी समन्वयमा अगाडि बढ्ने नीति रहेको छ भन्नुभयो ।

प्रधानमन्त्री ओलीले देशभित्रका सामथ्र्य र सीपलाई अधिकतम उपयोग गर्दै थप पूँजी र प्रविधि भित्र्याएर छिटो आर्थिक वृद्धिदर हासिल तथा विकासमा चमत्कार गर्न लागेको बताउनुभयो । प्रधानमन्त्री ओलीले यहाँको हावापानी, वातावरण विश्वमा कमैमात्रमा पाइने हुँदा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा शिक्षा र स्वास्थ्यका क्षेत्रको उत्कृष्ट गन्तव्य केन्द्रका रुपमा विकसित गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

हरेक नेपालीलाई स्वस्थ्य बनाउन सरकारले सबैलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने चर्चा गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सरकारले दायित्व लिएको छ भन्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले सञ्चालन गरेका पुरानो र ठूला वीर, शिक्षण अस्पताल, धरान अस्पतालले किन अन्तर्राष्ट्रिय मान्यता पाएनन् भन्ने प्रश्न गर्दै सार्वजनिक सम्पत्तिलाई अपनत्व ठान्दै जनताको सेवामा अधिकतम् उपयोगमा ल्याउन आग्रह गर्नुभयो । उहाँले बाह्य पूँजी र प्रविधिलाई देश र जनताको हितमा अधिकतरुपमा लगाउन लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here