शान्ति सम्झौता भएको ११ वर्ष पुरा,सम्झौताहरु कार्यान्वयन भएनन्

काठमाडौं,५ मंसिरः आज शान्ति सम्झौता भएको ११ बर्ष पुरा भएको छ । दश वर्ष लामो आन्तरिक सशस्त्र द्वन्द्वको अन्त्यका लागि तत्कालीन नेकपा (माओवादी) र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको ११ वर्ष पूरा भएको हो ।

२०६३ साल मंसिर ५ गते अर्थात आजकै दिन सरकार र माओवादीबीच शान्ति सम्झौतामा हस्ताक्षरपछि तत्कालीन नेकपा माओवादीले औपचारिक रुपमा शान्तिपूर्ण राजनीति अवलम्बन गरेको थियो ।

सम्झौतासंगै नेपालमा २०५२ सालदेखि चलेको नेकपा माओवादीको सशस्त्र राजनीतिक यात्रा अन्त्य भएको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वृहत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।

शान्ति सम्झौता पुरा भएको दिनको अवसरमा आज विभिन्न कार्यक्रम गरिदैछन्् । यो बिचमा गणतन्त्र स्थापना, राजसंस्थाको अन्त्य, संविधान जारी भएका छन् । तर, शान्ति सम्झौता पुरा भएको एक दशमा पनि शान्ति सम्झौता अनुसारको काम हुन भने बाँकी नै रहेका छन् ।

राज्यबाट दिइने राहत र क्षतिपूर्तिसमेत सङ्क्रमणकालीन न्याय व्यवस्थाको भरपर्दो प्रबन्ध नभएका कारण निष्कर्षमा पुगेको छैन ।

आठ वर्षपछि बेपत्ता पारिएका व्यक्ति खोजबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग गठन भए पनि दुईटै आयोगले काम सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here