शहीद स्मृति गोल्डकपको उपाधि मकवानपुर ११ लाई

हेटौँडा, १६ चैत:हेटौँडामा सञ्चालन भइरहेको दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकपको आज फाइनल खेलमा मकवानपुर ११ टिम विजयी भएको छ ।
फाइनलमा मकवानपुर ११ ले अफ्रिकाको दाफिन्स क्लबलाई एक गोलका विरुद्ध दुई गोलको अन्तरले पराजित गरी विजयी भएको हो । पहिलो हाफमा दाफिन्स क्लबका ओकोगोटाले खेलको शुरुमा पाँचौँ मिनेटमा गोल गरी अग्रता लिए पनि नवौँ मिनेटमा मकवानपुर ११ का योगेश गुरुङले पेनाल्टीमा गोल गरी खेल बराबरी गरे भने दोस्रो हाफको ८२औँ मिनेटमा पुनः मकवानपुर ११ का योगेश गुरुङले नै पेनाल्टीमा गोल गरेर टिमलाई विजयी बनाए । विजयी मकवानपुर ११ ले रु आठ लाख र शिल्ड प्राप्त गरे भने दोस्रो हुने दाफिन्स क्लबले रु चार लाख र कप प्राप्त गरे ।

बेस्ट प्लेयर अफ द म्याच मकवानपुर ११ का अशोक बराल घोषित भए उनले रु ७५ हजार प्राप्त गरे । विजयी टिम र दोस्रो हुने टिमलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबल महतले पुरस्कृत गर्नुभयो । दोस्रो शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here