व्यापारीको ध्यान तस्करी सुनमा, तस्करी सुनको गुणस्तर राम्रो

काठमाडौं, २२ भदौं– सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ । बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ ।

तस्करीको सुनको गुणस्तर राम्रो भएपछि व्यापारीले बैंकसँग सुन किन्न मन नपराउने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् । उनले भने, ‘भन्सार नतिरेका कारण तस्करी भएर आएको सुन सस्तो पनि भयो । त्यसमाथि शुद्धता बढी भएका कारण नाफा पनि बढी भयो ।’ अर्कोतर्फ गत जेठदेखि राष्ट्र बैंकले सानो परिमाणमा सुन किन्न पाउने व्यवस्था नगर्दासम्म व्यापारीले एक किलोभन्दा कम तौलको सुन किन्न पाउँदैनथ्ये । यसको फाइदासमेत तस्करले उठाउँदै आएका थिए । अहिले बैंकिङ च्यानलबाटै सय ग्रामसम्म सुन किन्न पाइन्छ । 

बैंकिङ च्यानलबाट आएको सुनको गुणस्तरका विषयमा व्यापारीले प्रश्न उठाएपछि तत्कालीन वाणिज्य मन्त्रालयले बैंक तथा व्यापारीबीच छलफल सुरु गरेको थियो । सुनको गुणस्तर कायम गर्नेसम्बन्धी निर्देशिका ल्याउनसमेत मन्त्रालयले पहल गरेको थियो । तत्कालीन वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय ९९९९ अंकित सुन मात्र ल्याउन सहमति भएको बताउँछन् । यसअघि अर्थात् असारसम्म बैंकहरूले ९९.५० अंकित सुन ल्याउँथे ।

त्यस्तो सुनलाई २४ क्यारेट नै भनिए पनि आधा प्रतिशत कम शुद्धता हुन्थ्यो । बैंकहरूले त्यस्तो सुन ल्याए पनि व्यवसायीले भने उपभोक्तालाई २४ क्यारेटकै मूल्य लिने र दिने गरेका थिए । सुन आधा प्रतिशत कम भए पनि शुद्धतामा भने शून्य दशमलव ५ प्रतिशत कम हुने नेपाल सुन, चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् ।

रसायनका कारण गरगहना कमसल बने पनि मूल्य भने २४ क्यारेटकै पाउने उनले बताए । ‘उपभोक्ता ठगिएका छैनन्, उनले भने, ‘यसको ग्यारेन्टी व्यवसायीले लिएका छन् ।’ अहिले नयाँ प्रविधिको विकास भइसकेको छ । रसायन राखेर छिटफुट मात्र गहना बन्ने गरेको छ । ‘बिलका आधारमा सुनको मूल्य निर्धारण हुने हो,’ शाक्यले भने । गहना बनाउँदा सुनको शुद्धतामा कमी आउने भएकाले नै दुई प्रतिशतसम्म टोलोरेन्स दिनुपर्छ भनी महासंघले माग रोखेको उनी सम्झन्छन् । गरगहना बनाउँदा गहनाको डिजाइन हेरी एक प्रतिशतसम्म पनि सुनको शुद्धतामा कमी आउन सक्ने शाक्यको बुझाइ छ ।

सरकार व्यवसायीबीच यो सहमति भएपछि नेपाल राष्ट्र बैंकले जेठमा सर्कुलर जारी गरेर बैंकहरूलाई विश्व बजारमा चलन चल्तीमा रहेको स्ट्यान्डर्ड सुन ९९९९ अंकित सुन ल्याउनुपर्ने व्यवस्था गरेको छ । ‘आमउपभोक्तालाई शुद्ध सुन उपलब्ध गराउन सरकारले यस्तो व्यवस्था गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए ।

सुन भनेको विश्वासमा चल्ने व्यवसाय हो । व्यवसायी आफैंले गहना बनाउने होइन । कालिगढले बनाउँदा अर्थात् गहना जडान गर्दा प्रयोग गरिने रसायनले पनि सुनको शुद्धता निर्धारण गर्ने नेपाल रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । अबको बजार भनेको विश्वासमा भन्दा पनि ग्यारेन्टीमा चल्नुपर्ने उनको भनाइ छ ।

‘विश्वमा धेरै प्रविधिको विकास भइसकेको छ । सुनको शुद्धता नापेर हलमार्क चिह्न प्रयोग गरी गहना बिक्री गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ महर्जनले भने, ‘गहना जडान गर्दा पहिला क्याडियम प्रयोग गरिन्थ्यो, अहिले जिंक प्रयोग गर्न थालिएको छ ।’ रसायन गरेको धातु उडाउन सके सुन शुद्ध हुन्छ, होइन भने केही गुणस्तर भने घट्ने उनले बताए ।

बैंकहरूले ९९.५० अंकित सुन ल्याउँदासम्म बैंकले ल्याएको सुनभन्दा तस्करीले ल्याएको सुन शुद्ध र सस्तो हुने गरेको व्यवसायीको भनाइ छ । वैधानिक बाटोबाट आएको सुनमा प्रति १० ग्राम चार हजार दुई सय भन्सार महसुल लाग्ने गरेको छ । नेपालमा अहिले शुद्ध सुन परीक्षण गर्ने उपकरण नै नभएको शाक्यले बताए ।

उनले भने चाँदीको गहना निर्यात हुने भएकाले यसको गुणस्तर परीक्षण गर्न नेपाल हस्तकला महासंघ र गुणस्तर तथा नापतौल विभागले ल्याएको छ । नेपालमा भने सोही उपकरणमा सुनको गरगहनाको परीक्षण हुने गरेको शाक्य र महर्जनको भनाइ छ । पसल-पसलबाट शुद्ध सुनको ग्यारेन्टीसहित गहना बिक्री गर्ने वातावरण सरकारले मिलाइदिनुपर्ने उनीहरूको भनाइ छ ।

नेपालमा दैनिक ३५ किलो सुन खपत हुँदै आएको छ । सरकारी च्यानलबाट दैनिक २० किलो सुन मात्र आपूर्ति हुन्छ । बजारको दैनिक मागका लागि समेत व्यवसायीले तस्करको भर पर्नुपर्ने अवस्था छ । काठमाडौंको मुटु न्युरोड र दरबारमार्गमा समेत तस्करीको च्यानलबाट आएको सुनको कारोबार हुने गर्छ ।
विश्व सुन काउन्सिलको प्रतिवेदनअनुसार सन् २०१६ मा भारतमा ६ सय ६६ टन सुन खपत भएको थियो भने चीनमा नौ सय ७० टन आन्तरिक खपत भएको देखिन्छ । खपतका हिसाबले चीन विश्वकै सबैभन्दा बढी सुन खपत हुने देशमा पर्छ ।

काउन्सिलको अभिलेखअनुसार सन् २०१६ मा चार हजार पाँच सय ८७ टन सुन विश्वबजारम थपिएको थियो । त्यसमध्ये चार हजार दुई सय ८० टन सुन मात्र खपत भयो । विश्वमा खपत हुने सुनको आधाजसो भाग अर्थात् दुई हजार ४६ टन सुन गहना बनाउने काममा मात्र प्रयोग हुने काउन्सिलको प्रतिवेदनले जनाएको छ ।

भारतमा मात्रै पाँच सय चार टन सुन गहनाका लागि प्रयोग हुन्छ । सुनको बढ्दो माग धान्न चिनियाँ सुन नेपालको बाटो भएर भारत जाने गरेको छ । आजको अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here