काठमाडौं, ४ भदौं– व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल हुने भएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा गत बुधबार प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि छलफल हुने भएको हो ।
संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसक्नु भएका छ भने अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ ।
संशोधनकर्ता सांसदसँगै अन्य इच्छुक सांसदले समेत बोल्न समय पाउने भएकाले संशोधन प्रस्तावमाथि मतदान भने भोलि हुने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताउनुभयो ।
उहाँका अनुसार संशोधन प्रस्तावमाथि संशोधन दर्ता गराउनेले बोल्ने क्रम भोलीसम्म जारी रहनेछ । प्रमुख प्रतिपक्षी दल एमाले संशोधन प्रस्तावलाई संसद्बाट प्रक्रियागत रूपमा टुंगो लगाउन सकारात्मक भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो ।
संविधान संशोधनको माग गर्दै आएको मधेसकेन्द्रित दल राजपासमेत प्रस्ताव पास वा फेल जे भए पनि संसदीय प्रक्रियाबाट टुंगो लगाउन राजी भएको छ ।

