काठमाडौँ, १८ असार- केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ ।
विभागले दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको होे । विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले हालसम्म पाँच लाख ५४ हजार ९९२ जनाको घटना अनलाइनमा राखिएको बताउनुभयो ।
उहाँका अनुसार तीन लाख २४ हजार ८६१ हजार जन्मदर्ता, ६१ हजार २६५ बसाइँ–सराइ, एक लाख १२ हजार ६५९ विवाह दर्ता, एक हजार ९४८ सम्बन्धविच्छेद र ५४ हजार २९५ मृत्युका घटना अनलाइनमा दर्ता गरिएको छ ।
“व्यक्तिको घटना दर्तालाई अनलाइनमा राखी कागजविहीन बनाउने योजनाका साथ अहिले अनलाइन दर्ता गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अनलाइनमा भएका कुनै व्यक्तिको विवरण खोज्दा सजिलै प्राप्त गर्न पुराना ढड्डा पल्टाउन पर्दैन ।”
सात सय ५३ स्थानीय तहमा छ हजार ७४३ वडा कार्यालय रहेकामा अहिलेसम्म एक हजार ५८८ वडा कार्यालयले अनलाइनबाटै दर्ता गरिरहेका छन् ।

