काठमाडौँ, १९ जेठ । सरकारले विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ ।
विशेषगरी काठमाडाँै उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो । यसका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेटमा समेत सम्बोधन गरेको छ । विश्व वातावरण दिवस जेठ २२ गते जुन ५ तारिख पर्दछ ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले ‘पोलिसी रिसर्च एण्ड एड्भोकेसी हव’ नामक संस्थाद्वारा वातावरण संरक्षणसम्बन्धी आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वातावरण दिवस वर्षमा एकदिनमात्र मनाएर पुग्दैन, वातावरण संरक्षणलाई नीति निर्माणमा राखी वर्षदिनभरि नै मनाउनुपर्छ भन्नुभयो ।

