काठमाडौं १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व मजदूर दिवसका अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवीमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना गर्नुभएको छ ।
मजदूर दिवसको उपलक्ष्यमा आज दिनु भएको एक सन्देशमा प्रधानमन्त्रीले प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदूर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको बताउनुभएको छ ।
नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएका बताउँदै प्रधानमन्त्रीले नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पु¥याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।
श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको कुरा उल्लेख गर्नुहुँदै सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मर्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

