विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ-अर्थमन्त्री

काठमाडौँ, २६ साउन: विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट आज स्वदेश फर्केपछि अर्थमन्त्री डा युवराज खतिवडाले त्यस्तो जानकारी दिनुभएको हो ।

सो बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत थप सहायता रकम उपलब्ध हुनलागेको हो । अमेरिकाबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले सन् २०१८ मा प्राप्त भइरहेको भन्दा दोब्बर सहायता रकम नेपालले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । बैंकले नेपालमा हाल करीब रु दुई अर्ब ७० करोड डलर अर्थात रु दुई खर्ब ७० अर्ब बराबरको लगानी विभिन्न आयोजनामा गरिरहेको छ ।

सन् २०२२ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेकाले विश्व बैंक समूहका विभिन्न संस्थाका पदाधिकारीसँग महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । नेपाल सरकार र विश्व बैंकबीच पाँच वर्षीय देशीय साझेदारी ढाँचाअन्तर्गत अन्तर्राष्ट्रिय विकास संस्थाले सहयोग बढाउने भएको हो । सन् २०१९ देखि २०२३ का लागि कार्ययोजना तयार भई बैंकले समेत पारित गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here