विश्व क्रिकेट लिगः नेपाल र नामिविया भिड्ने

काठमाडौँ, २४ माघ- आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु खेल्न दोस्रो पटक नामिविया पुगेको नेपाली टोलीले बिहीबारको उद्घाटन खेलमा आयोजक नामिवियासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाली टोली यसअघि सन् २०१५ मा डिभिजन टू खेल्नकै लागि नामिविया पुगेको थियो । त्यतिबेला नेपालले क्यानडा र नामिवियालाई पराजित गरेको थियो भने केन्यासँग हार बेहोरेको थियो ।

जसमा दुई टोली नामिविया र नेदरल्याण्ड फाइनलमा पुग्दा नेपाल रनरेटको आधारमा तेस्रो स्थानमा रहेको थियो । नेपालसँगै आयोजक नामिविया, (युएई) र केन्या विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चार स्थानमा रहँदै डिभिजन टु मा घटुवा भएका हुन् ।

त्यसैगरी ओमन र क्यानडा डिभिजन थ्री को शीर्ष दुई स्थानमा रहँदै डिभिजन टु मा बढुवा भएका हुन् । विभिन्न छ टोलीले भाग लिएको उक्त प्रतियोगितामा नेपालले आफ्नो उद्घाटन खेलमा विजय लक्ष्यका साथ नामिवियाको डब्लुएपी मैदानमा आयोजकसँग भिड्नेछ ।

प्रतियोगितामा नेपालसहित नामिविया, केन्या, संयुक्त अरब इमिरेट्स (युएई), क्यानडा र ओमान सहभागी छन् । जसमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले अर्को महिना जिम्वावेमा हुने एक दिवसीय विश्व कप छनोट खेल्न पाउनेछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, वसन्त रेग्मी, शक्ति गौचन, करण केसी, ललितसिंह भण्डारी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अनिलकुमार शाह, रोहितकुमार पौडेल र दीलिप नाथ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here