विश्वकर्मा र परियारबीच मागी विवाह, बुवा भन्छन्ः मैले छोराको खुशी हेरे….

काठमाडौं,२३ बैशाख । २१औँ शताब्दीमा आइपुग्दा पनि उही रुढीवादी परम्परालाई मान्नेहरु हाम्रो समाजमा ब्याप्त छन् । दलित र गैह्रदलितबीच (अन्तरजातीय) विवाह गरेकै कारण कैयौँ व्यक्तिहरु समाजबाट बहिष्कार मात्रै भएका छैनन् कतिले त ज्यानसमेत गुमाएका घटनाहरु विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेकाबेला एक जोडीले अन्तरजातीय तर मागी विवाह गरेर समाज परिवर्तनका लागि गतिलो उदाहरण पेश गरेका छन् ।

रामेछाप जिल्ला मन्थली नगरपालीका–११ स्थायी घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालीका इमाडोलको बोझेपोखरी बस्दै आएका सबिन विश्वकर्माले सिन्धुली जील्ला स्थायी घर भएकी मोनीका परियारसँग मागी विवाह गरेका हुन् । केही समयदेखि प्रेमसम्बन्धामा रहेका यो जोडीले दुबै परिवारको सहमतिमा मागी विवाह गरेका हुन् ।

समाजको अगाडि सविन र मोनिकाका लागि यो विवाह त्यति सजिलो भने थिएन । तर, आफ्नो परिवारको समर्थन पाएपछि भने उनीहरुले लगभग असम्भव जस्तो विवाहलाई सम्भव बनाएका हुन् । दलित र गैह्रदलितबीच जुन किसिमको जातीय विभेद छ त्यति नै दलित समुदायभित्र पनि विश्वकर्मा र परियारबीच छ । यस्तो अवस्थामा यी दुईलाई विवाह गर्न मुस्किल जस्तै थियो ।

परिवारको साथ सहयोगले भएको विवाहमा कतिपय आफन्तहरु भने सहभागी नभएको उनले दुखेसो पोखे । यद्यपी भाविष्यमा आफन्तले आफूहरुको खुसीमा साथ दिने विश्वास रहेको सविन बताउँछन् । सविनको मात्रै होइन उनका बुबा दिपक विश्वकर्मा पनि केही आफन्तले आफ्नो छोराको विवाहलाई स्वीकार नगरेकोमा दुःख लागेको बताउँछन् ।

विवाहको निर्णय गर्नु पूर्व आफ्ना दाजुभाईसँग सल्लाह गर्दा केही दाजुभाईले सहमति जनाए पनि केहीले भने परियारलाई बुहारी बनाए नाता सम्बन्ध नै तोडिनेसम्मको कुरा बताएको र अन्ततः वैवाहिक कार्यक्रममासमेत उपस्थित नहुँदा आफूलाई दुःख लागेको दिपक बताउँछन् । समाज परिवर्तन चाहने हो भने आफूबाटै सुरुवात गर्नु पर्छ भन्ने मान्यतालाई आत्मासात गर्दै आफूले परियारलाई बुहारी बनाउने निर्णय गरेको दिपकको भनाई छ ।

‘छोराले मन पराएको केटी विवाह गर्दा ऊ खुशी हुन्छ भने त्यसैमा मलाई खुशी मिल्छ । उनी भन्छन्, ‘मैले छोराको खुसी हेरेँ जात हेरिनँ ।’ ‘गैह्रदलित विवाह गर्दा मेरा भाईभतिजाले ठूलो जातको केटी ल्यायो भन्दै खुसी साट्दै हिँड्ने मेरा दाजुभाई आज, मेरो छोराले परियार ल्याउँदा वैवाहिक कार्यक्रममा नै सहभागी भएनन् ।

उनी भन्छन्, ‘अफूत आएनन् नै अरुलाईसमेत नजानु भन्दै उर्दी लगाउँदै हिँडेको पाएँ । त्यो देख्दा चाहीँ दुःख लागेको छ ।’ आफ्ना ६ दाजुभाईमा दुई दाईले समर्थन नजनाए पनि अन्य दाजुभाई र आफन्तले समर्थन जनाएकोमा भने उनी खुसी लागेको बताउँछन् । सविन र मोनिकाको विवाह यहि वैशाख ९ गते सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here