बुटवल, ९ चैत- पूर्वउपराष्ट्रपति परमान्द झाले दुई देशका सीमामा भइरहने समस्या स्थानीयस्तरको समझदारीमा सुल्झाएमा प्रभावकारी हुने बताउनुभएको छ ।
नेपाल भारत मैत्री समाज भैरहवाले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले राजनीतिक र अन्य समस्या केन्द्रीय तहबाट समाधान भए पनि वारिपारिका सानातिना समस्या सीमा स्थानीय संघसंगठनको संवाद र छलफलबाट समाधान गर्न आह्वान गर्नुभयो ।
कार्यक्रममा मैत्री समाजका केन्द्रीय अध्यक्ष प्रेम लस्करीले सीमा क्षेत्रमा भारतीय पक्षले नेपाली पक्षमाथि कहिलेकाहीँ अप्ठयारो पार्ने व्यवहार गर्ने गरेको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्न नेपालस्थित भारतीय राजदूतावासलाई भन्ने गरिएको बताउनुभयो ।
पूर्वमन्त्री ओमप्रकाश यादव गुलजारीले भारत जाँदा नेपालीले र नेपाल आउदा भारतीयले समस्या भोग्ने परम्परालाई निराकरण गर्न मैत्री समाजले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा मैत्री समाज बेलहिया शाखाका अध्यक्ष डा शान्तकुमार शर्मा, भैरहवा शाखाका अध्यक्ष राजेन्द्र गुप्तालगायत रोटरी, लायन्स क्लब, भूपू सैनिक संगठन आदि विभिन्न संघसंस्थाका प्रमुखले भारत जाँदा भारतीय सुरक्षाकर्मीले दशगजामा नेपालीमाथि जाँचका नाममा गर्ने गरेको दुव्र्यवहार तत्काल रोक्ने पहल गर्न आग्रह गरेका थिए ।

