विर्तामोडमा आजपनि कफ्र्यू, बजार सुनसान

काठमाडौं,११ कार्तिक– बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शन अनियन्त्रित भएपछि झापा प्रशासनले हिजोदेखि बिर्तामोड क्षेत्रमा लगाएको कर्फ्यू आजपनि जारी छ ।
अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको हत्या भएको एक महिना हुन लाग्दा समेत अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीयवासीले गरेको प्रदर्शन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा अनिश्चीतकालिन कर्फ्यू लगाएको हो ।
हिजो प्रहरीले भिड नियन्त्रण गर्दा चलाएको गोली लागि अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घाइते भएका थिए ।

टोली आज झापा जाने 

बिर्तामोड घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले बनाएको छानबिन समिति को टोली आज झापा जाने भएको छ । सहसचिव वीरेन्द्रकुमार यादवको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको टोलीमा नेपाल प्रहरीका डिआइजी रमेशकुमार भट्टराई, सशस्त्र प्रहरीका डिआइजी चिरञ्जीवी अधिकारी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हरिहर पौडेल रहनुभएको छ ।
टोलीले घटनाका विषयमा छानविन गर्ने छ । हिजो स्थानीय प्रशासन र पिडितबीच ७ बुँदे सहमति भएको छ भएपनि क्र्फ्यु भने जारी रहेको छ । प्रशासनले छानविन गरेर ७ दिनमा प्रतिवेदन बुझाउने प्रतिवद्धता जनाएको छ ।
यसैबीच–अहिले पीडितपक्ष, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख, राजनीतिकदलका प्रतिनिधि सम्मिलित सर्वदलीय बैठक सुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here