विरोधीलाई मतदान नगर्न मतदातासँग कृष्णप्रसाद सिटौलाको आग्रह

भद्रपुर, ४ मंसिर- नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासँग आग्रह गर्नुभएको छ ।

चुनावी अभियानअन्तर्गत भद्रपुरको भानुचोकमा आयोजित कोणसभामा उहाँले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका उम्मेदवारलाई मत नदिन आग्रह गर्नुभयो ।

झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सिटौलाले संस्थागत भई नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गरी परिवर्तनको रक्षामा लाग्नुपर्नेमा जोड दिदैं परिवर्तन विरोधीलाई पाखा लगाउन सबैमा अपिल गर्नुभयो ।

परिवर्तनको जनलहर रोकेर परिवर्तन विरोधी पक्षमा लाग्नुहुँदैन, उहाँले भन्नुभयो– “ कम्युनिष्ट मतदाताले पनि लोकतन्त्र र परिवर्तनका पक्षधर नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न सक्नुपर्छ ।”

सो अवसरमा प्रदेशसभा सदस्य ‘ख’ का उम्मेदवार भूमिप्रसाद राजवंशीले प्रदेशसभामा आदिवासी जनजाति समुदायको उपस्थिति दर्शाउन पनि आफ्नो उम्मेद्वारी अनुमोदन हुनुपर्ने तर्क गर्दै विभेदको अन्त्य तथा समन्यायिक राज्य व्यवस्थाका लागि आफूलाई मतदान गर्न सबै मतदातासँग आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here