विभिन्न देशका टप मिडिया नेपाल आउने

काठमाडौं,१७ असार ।  सरकारले पर्यटन प्रवर्द्धनका लागि विभिन्न चर्चित अन्तर्राष्ट्रिय मिडियाहरुलाई नेपालमा ल्याउने तयारी गरेको जनाएको छ । ’नेपाल भ्रमण वर्ष २०२०’लाई मध्यनजर गर्दै सरकारले विश्वका विभिन्न चर्चित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरुलाई नेपालमा बोलाउने र यहाँका पर्यटकीय गन्तव्यको भ्रमण गराई रिपोर्टिङ गर्न लगाउने योजना अघि सारेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।

संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गत विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सो योजना अघि सारेको बताउनुभयो । ’विश्वका चर्चित मिडियाहरु बिबिसी, सिएनन, अल जजिरा, गार्जियन, न्युयोर्क टाइम्स, सिन्ह्वालगायतलाई नेपालमा बोलाउने र यहाँका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गराई यहाँको रिपोर्टिङ गराउने योजना बनाएको बताउनुभयो । उहाँले नेपालका पर्यटकीय गन्तव्यका बारेमा विदेशसम्म जानकारी पुग्ने र पर्यटकको आवागमन बढाउने बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विभिन्न देशका मिडियामा यहाँका पर्यटकीय गन्तव्यका बारेमा समाचार प्रकाशन र प्रशारण हुँदा यसले नेपालको तथा भ्रमण वर्षको ब्रान्डिङ गर्नमा सघाउ पुग्ने समेत जिकिर गर्नुभयो । उहाँले सीमित रकम खर्च भए पनि पर्यटकको आवागमनमा वृद्धि भई पछि खर्चभन्दा बढी आम्दानी हुने दाबी गर्नुभयो ।
मिडिया प्रतिनिधिलाई सरकारले देशका उत्कृष्ट पर्यटकीय गन्तव्यमा घुम्ने र त्यहाँको महत्वको बारेमा जानकारी गराउन छुट्टै संयन्त्रसमेत बनाउने तयारी गरेको छ ।

सो क्रममा उनीहरुले पर्यटकीय गन्तव्यहरुको तथ्य, फोटो तथा भिडियो संकलन गरी आफ्ना मिडियामा सम्प्रेषण गर्नेछन् । सरकारले यो कार्यलाई ’इन्टरनेसनल मिडिया समिट’को नाम दिएको छ । मन्त्री बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ । मन्त्री बास्कोटाले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here