विपक्षी दलको अवरोधपछि प्रदेश ५ को बैठक स्थगित

काठमाडौं,४ असारः प्रदेश ५ को आजको प्रदेश सभाको बैठक विपक्षी दलको अवरोधपछि स्थगित भएको छ । बैठकमा सरकारको आगामी वर्षको बजेट माथिको सामान्य छलफल र प्रदेश सभा नियमावली संशोधन माथि छलफल र निर्णयार्थ पेश गर्ने कार्यसूची थियो ।

बैठक शुरु भएलगत्तै कांग्रेस प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले बोल्दै बजेट समानुपातिक विकास गर्ने गरी नआएको र समृद्ध प्रदेश निर्माण केन्द्रित नभएको भन्दै बैठक चल्न नदिने जानकारी गराउनु भएको थियो । सदस्य चौधरीको सम्बोधन लगत्तै कांग्रेसका सांसदले उभिएर विरोध जनाएका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले बैठक सञ्चालन गराउनका लागि पटक पटक आग्रह गर्नु भएको थियो । कांगेस सांसदले अनुरोध नसुनेपछि सभामुख घर्तीले पूर्व कार्यसूची अनुसार बैठक अघि बढाउने प्रयास गरेपछि कांग्रेस सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए । त्यसपछि २० मिनेटका लागि स्थगित भएको बैठक २ बजेपछि सूचना टाँस गर्दै भोलि १ बजेसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विपक्षी दल कांग्रेसका सांसदले सरकारले ल्याएको बजेट समानुपातिक नभएको, प्रदेशको राजधानी र संचरनाका विषयमा केही नबोलेको र बजेट एकै स्थानमा बढी केन्द्रित भएको आरोप लगाएका छन् । मुख्यमन्त्री शंकर पोखरेल बैठकमै आएर सम्बोधन नगरेसम्म बैठक चल्न नदिने प्रतिपक्ष दलको निर्णय भएको सांसद अष्टभुजा पाठकले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here