काठमाडौँँ,२८ माघ । प्रेस काउन्सिल नेपालले विधागत (बिट) पत्रकारितामा देखिएका समग्र समस्याको पहिचान गरी नयाँ नीति तय गर्ने भएको छ ।
काउन्सिलले आयोजना गरेको विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिसँगको अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो ।
खास गरी विधागत पत्रकारितालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन त्यससँग सम्बन्धित सरोकारवालासँग काउन्सिलले पहिलो पटक छलफल गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
कार्यक्रममा ‘नेपाल फोरम अफ साइन्स’ जर्नालिस्टका अध्यक्ष छत्र कार्की, वैैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल र शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहाल लगायतले विधागत पत्रकारितामा देखिएका विकृत्तिलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार सङ्घका उपाध्यक्ष नवराज पुडासैनी र विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई लगायतले विधागत पत्रकारितालाई थप व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।
‘विधागत पत्रकारिता विशिष्ट आचारसंहिता’ बनाउनेसम्बन्धी काउन्सिलले छलफलसमेत अगाडि बढाउने भएको छ ।
कार्यक्रमका सहभागीले पत्रकारितामा अघोषित सिन्डिकेटको विकास भएको, उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गर्न नसकिएको, विधागत पत्रकारितामा विज्ञ व्यक्तिको अभाव, तालिमको अभाव, नयाँ नीति र समन्वयको अभावलगायतका समस्या रहेकाले त्यसको समाधानका लागि विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थासंग समन्वय गरेर अगाडि बढ्न प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका थिए । रासस

