विद्युत् चुहावट नियन्त्रणमा सरकारको ऐतिहासिक सफलता

काठमाडौँ, २३ माघ। लामो सयमदेखि विकराल समस्याका रुपमा रहेको विद्युत् चुहावटलाई गुणात्मकरुपमा घटाउन नेपाल विद्युत् प्राधिकरण सफल भएको छ ।

प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्षको पाँच महीनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा सीमित भएको छ ।

आर्थिक वर्ष २०७४/७५ को अन्त्यमा प्राधिकरणको प्रणालीमा २०.४५ प्रतिशत विद्युत् चुहावट रहेको थियो । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत् चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको थियो ।

सरकारको स्पष्ट निर्देशन, प्राधिकरणको प्रभावकारी एवं व्यावहारिक कार्यान्वयन तथा सुरक्षाकर्मीको सक्रिय सहयोगका कारण चुहावट नियन्त्रणमा ऐतिहासिक सफलता मिलेको हो ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सवस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकैरुपमा चालिएका कदमले विद्युत् चुहावटमा ऐतिहासिक सफलता मिलेको बताउनुभयो ।

उहाँले २५.७८ प्रतिशत रहेको चुहावटलाई घटाएर न्यून बिन्दुमा ल्याउन सफलता मिलेको बताउनुभयो ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवाअन्तर्गतका कर्मचारी दिन–रात नभनी खटिएका कारण पनि चुहावट नियन्त्रणमा ऐतिहासिक सफलता मिलेको हो ।

प्राधिकरणका अनुसार करीब १० प्रतिशतको चुहावट नियन्त्रण मात्रै हुनसक्यो भने वार्षिक सात अर्ब थप आम्दानी गर्नेछ ।

विद्युत् चोरी नियन्त्रण अभियानमा गृृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायबाट निरन्तर साथ र सहयोग पाइरहेका कारण पनि ऐतिहासिक सफलता मिलेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि अभियानात्मकरुपमा नै काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here