वित्तीय संस्थालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकले संयुक्त रुपमा आज राजधानीमा गरेको सम्मेलनलाई उद्घाटन गर्दै उहाँले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो ।
सरकारले केन्द्रीय बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रवद्र्धन गर्न पहल गरेको भन्दै उहाँले सरकारले लगानीको लागि उपयुक्त वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पार्नुभयो ।

उदारीकरण अभियानअन्तर्गत दोस्रो चरणको वित्तीय सुधारलाई सरकारले अगाडि बढाएको जानकारी दिँदै उहाँले सो चरणको सुधारमा बैंक तथा वित्तीय संस्थाको प्रणालीलाई कानुनमार्फत थप समावेशी बनाइने बताउनुभयो ।
सन् २०२२ सम्ममा नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलकमा रुपान्तरण गर्न र सन् २०३० सम्ममा मध्यम आय हुने मुलुकको स्तरमा पुग्न पूर्वाधारमा ठूलो लगानी आवश्यक भएको भन्दै प्रधानमन्त्री दाहालले नेपालले ऊर्जा, यातायात र पर्यटन क्षेत्रमा विशेष लगानीको अपेक्षा गरिएको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here