
काठमाडौं, १२ फागुन – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाम सरकारको निगरानी गर्न छायाँ सरकार बनाउने तयारी गरेको छ । सरकारका कामकारबाहीमा विशेष तथा शसक्त निगरानी गर्नका लागि कांग्रेसले छाँया सरकार बनाउन लागेको हो ।
आज बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकमा छायाँ सरकार गठनको खाकासहित विधान संशोधनको प्रस्ताव पेश भएको छ । कांग्रेसले छाँया सरकार गठनको खाकासहित प्रस्तावबारे विधानमा नै समावेश गरि संसदीय दलमा छलफल गरिरहेको छ । संसदीय दलको बैठकमा प्रधानमन्त्रीको कामको निगरानी गर्न संसदीय दलका नेतालाई छाँया प्रधानमन्त्री बनाउने र केन्द्र सरकारमा रहेका मन्त्रीहरुकै संख्यामा मन्त्री पनि बनाउने तयारी भईरहेको नेता गगन थापाले जानकारी दिनुभयो ।
छाँया प्रधानमन्त्री र मन्त्रीहरुले आ-आफ्ना मन्त्रालय अन्तर्गत सरकारबाट भएका कामको कडा निगरानी गर्नेछन् । अर्का सांसद बालकृष्ण खाँडले संविधानको रक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सम्बर्द्धनका लागि कांग्रेसले दुबै सदनमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।

