वाम गठबन्धनले थाल्यो प्रदेश सरकार गठनको तयारी

काठमाडाैं, २६ पुस – वाम गठबन्धनले प्रदेश सरकार गठनको तयारी थालेको छ । सरकारले प्रदेश प्रमुख नियक्तिको अन्तिम तयारी गरिरहँदा वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले प्रदेश सरकार गठनको आन्तरिक तयारी थालेको हो ।

हिजो पार्टी एकता संयोजन समितिले गठन गरेको दुई दलीय कार्यदललाई एमाले र माओवादी केन्द्रका अध्यक्षले आज विशेष निर्देश दिएका छन् । उनीहरूले राष्ट्रिय सभा, प्रदेश सभा, प्रदेश सरकार गठनका सम्बन्धमा प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएका हुन् । सरकारले प्रदेश प्रमुख नियुक्त गर्नेबित्तिकै प्रदेशसभाका सदस्यहरूको सपथ हुनेछ र प्रदेश सरकार गठनको बाटो खुल्नेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान भएको बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यदलमा रहेका नेतालाई प्रदेश सभा र प्रदेश सरकारको कार्यविभाजन टुंग्याउन निर्देशन दिएका हुन् । ओली र दाहालले कार्यदललाई प्रदेशसभा र राष्ट्रियसभा गठनका सम्बन्धमा चाँडो प्रतिवेदन दिन निर्देशन दिएको भन्दै एमालेका नेता सुवास नेम्वाङले भोलि ३ बजे बैठक बसेर थप छलफल गरिने बताउनुभयो ।

मंगलबार पार्टी एकता संयोजन समितिको बैठकले राष्ट्रियसभा, प्रदेशसभा र प्रदेश सरकार गठनका लागि दुई दलका नेता सम्मिलित कार्यदल निर्माण गरेको थियो । कार्यदलले प्रदेशसभाका सभामुख, उपसभामुख, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको पद बाँडफाट गर्नेछ ।

सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने घोषणा यसअघि नै गरिसकेको छ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछिमात्र प्रतिनिधिसभातर्फको अन्तिम मतपरिणाम सार्वजनिक गरेपछि संघीय संसद पूर्ण हुनेछ र संघीय सरकार गठनको बाटो खुल्नेछ ।

हालै सम्पन्न प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर २ बाहेक अन्य ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमत छ । संघीय संसदमा पनि वाम गठबन्धन सुविधाजनक बहुमतमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here