पोखरा, १९ माघ: वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यक भएको बताउनुभएको छ ।
विश्व सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज यहाँ आयोजित ‘सिमसार तथा जलवायु परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक छ ।”
मन्त्री बस्नेतले प्राकृतिक सम्पदाको संरक्षण र यसको बहुआयामिक उपयोग गर्नुपर्ने बताउँदै मुलुक सङ्घीयतामा गइसकेपछि त्यसका लागि आवश्यक पर्ने ऐन, कानून र नीति नियम बनाउने कार्यमा सरकार लागिपरेको धारणा व्यक्त गर्नुभयो ।
कानून निर्माणसँगै सरकार दीर्घकालीन योजनाका साथ विकास निर्माणमा अघि बढ्ने बताउँदै उहाँले सरकार र विकास साझेदारबीच आपसी समन्वयका आधारमा अघि बढ्ने भन्नुभयो ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी क्षेत्रका रामसार सूचीका सूचीकृत तालका साथै अन्य जलसम्पदाको संरक्षण एवं उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

