काठमाडौं, ३० बैशाख– वाणिज्यमन्त्री रोमी गौचन थकालीले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई पैसा बाँडेको आरोप लागेपछि आक्रोशित सर्वसाधारणका कारण शनिबार बिहानैदेखि जोमसोम बजार तनावग्रस्त भएको छ ।
मन्त्री गौचनलाई प्रहरीले सुरक्षा दिएर स्थानीय यामप्रसाद थकालीको घरमा राखेको छ । प्रदर्शनकारीले कालीगण्डकी करिडोरको कोरला सडकको ठाउँ ठाउँमा चक्काजाम गरेका छन् ।
बिहानैदेखि जोमसोम बजारमा कांग्रेसबाहेकका दलहरु र स्वतन्त्रका उम्मेदवार सर्मथित कार्यकर्ताहरुको प्रदर्शन चर्किएको छ ।
प्रर्दशनका कारण मुक्तिनाथ जान लागेका दर्शनार्थीहरु बाटोमै रोकिएका छन् । प्रदर्शनकारीले जोमसोम मुक्तिनाथ सडकमा सवारी चल्न दिएका छैनन् । सदरमुकामभरि सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र सशस्त्रलाई व्यापक खटाइएको छ ।
मन्त्री गौचन शुक्रबार दालोमे गाउँपालिका तेताङ गाउँमा आफ्ना कांग्रेस कार्यकर्ता भेट्न पुगेका थिए । राति १२ बजे सर्वसाधारणको घरघरमा पुगेर पैसा बाँडेको थाहा पाएपछि सर्वसाधारणले समातेर मन्त्री गौचनलाई झुसाङ प्रहरीलाई बुझाएका थिए ।
लगत्तै एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रका कार्यकर्ता पुगेर उनलाई राखिएको स्थानमा घेराबन्दी गरे । राति नै प्रहरीको सुरक्षा घेरामा मन्त्री गौचनलाई सदरमुकाम जोमसोम ल्याइएको थियो । मन्त्री गौचनले भोट किन्न पैसा बाँडेकोले रंगेहात समातेर प्रहरीलाई बुझाइएको एमालेका पूर्वसांसद चन्द्रबहादुर गुरुङले बताए ।
‘मन्त्री भएको मान्छे निर्वाचन आचारसंहिताविपरीत पैसा बाँड्ने र भोट माग्ने गरेकोले सर्वसाधारण र दलहरुका कार्यकर्ताले उनलाई समातेर प्रहरीलाई बुझाएका हुन्,’उनले भने, मन्त्रीको पदमा बसेर गौचनले एकसातादेखि पैसा बाँड्ने र भोट माग्ने काम गरेका छन् ।’उनलाई निर्वाचन आचारसंहिता उल्लघंन गरेको आधारमा कारबाही नगरेसम्म सबै दलहरुको विरोध कार्यक्रम जारी रहने बताए ।

