वाइड बडी जहाज खरिद सम्झौता आज

काठमाडौं, २५ चैत–  नेपाल वायुसेवा निगमले वाइड बडी जहाज खरिदका लागि आज अमेरिकी कम्पनीसँग सम्झौता गर्ने भएको छ ।

निगमको इतिहासमै पहिलोपटक खरिद गर्न लागिएको वाइड बडी जहाजका लागि टेन्डर पाएको अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग यस्तो सम्झौता हुन लागेको हो ।

सम्झौताका लागि कर्पोरेसनको ४ सदस्यीय टोली हिजो नै काठमाडौं आइसकेको छ । निगमले एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिद गर्दैछ ।

एएआर कर्पोरेसनसँग हिजो नै द्विपक्षीय छलफल भएको छ आज र बिहान सम्झौतापत्रमा केही भाषा मिलाएपछि खरिद सम्झौता हुने निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिनुभयो ।

सम्झौतालगत्तै निगमले ८ अर्ब रुपैयाँ पहिलो किस्तास्वरुप कर्पोरेसनलाई पठाउने उहाँले जानकारी दिए ।

निगमले दुई वाइड बडी जहाजका लागि २० करोड ८० लाख १६ हजार अमेरिकी डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्दैछ ।

सम्झौतालगत्तै निगमले कर्पोरेसनलाई पहिलो किस्ताबापत ८ अर्ब रुपैयाँ पठाउने सहमति भएको छ । बाँकी रकम दुई किस्ता गरेर निगमले कर्पोरेसनलाई पठाउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here