वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा

नेपालगञ्ज, १९ साउन: ‘‘बाढीले खेत बगाएर लान्छ, घरखेत पानीमा डुब्छन्, बालुवाले खेत कटान गरेर बगर बनाउँछ । यो त हाम्रो वर्षेनीको नियति र पीडा नै बनेको छ’’ बाँके राप्ती तटीय क्षेत्रका बाढी पीडित सुधाकर यादव पीडा सुनाउनुहुन्छ । यसखालको पीडा उहाँको मात्र होइन, उहाँ जस्तै २४ हजार बाँकेवासीको समानखालको पीडा छ ।

बाँकेको नेपाल—भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि शुरु भयो, बाँके राप्ती तटीय क्षेत्रका बासिन्दाको वर्षेनीको बाढी र डुबानको पीडा । मनसुनको समयमा भारतले आफू अनुकूल तटबन्धको ढोका खोल्ने गरेका कारण वर्षेनी बाँकेका हजारांै खेतीयोग्य जमीन डुबानमा पर्छ, । घरगोठ पानीमा डुब्छ, जनधनको क्षति पनि हुन्छ ।

भारतको यो प्रवृत्तिका कारण प्रत्येक वर्ष बाँकेका होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका करीब २४ हजार नागरिक प्रभावित हुन्छन्, बाढीको नियति भोग्न बाध्य पारिन्छन् । मनसुनको प्रभाव बढेसँगै नदीमा पानीको वहाव बढ्न थालेपछि बाँके जिल्ला प्रशासन कार्यालयले नेपाली भूमी डुबान हुन नदिन भारतीय पक्षसँग तटबन्धको ढोका खोल्न आग्रह गरे पनि त्यसले सार्थकता र्पाको छैन् ।

केही दिनअघि बाँके, बर्दिया र दाङ तथा भारतका बहराइच र श्रावस्ती जिल्लाका सीमा अधिकारीको संयुक्त बैठकमा बाँकेको राप्ती तटीय क्षेत्र डुबान हुन नदिन बाँधको ढोका पर्याप्त खोल्न आग्रह गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here