सोलुखुम्बु, ५ असार- वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहनुभएकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबारनै पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो ।
सेवाग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडाध्यक्ष राईलाई लेखापढी व्यवसायीसमेत रहेकी महिलाले बिनाकारण एक्कासि हातपात गरेको वडाध्यक्ष राईको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवाग्राहीको फाइल मगाएर सच्याउने क्रममा आफूमाथि एक्कासि हातपात भयो ।”
जग्गा नामसारीका लागि सहयोग गरिरहनुभएकी लेखापढी व्यवसायी निरकुमारीले अब सच्याउँदा आफूले काम गर्न नभ्याउने प्रतिक्रिया दिनुभयो ।

