लेखनाथ नगरकाे कार्यालय भवनलाई प्रदेश कार्यालय बनाइने

पोखरा २३ पुस – कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित खगराज अधिकारीले साविक लेखनाथ नगरपालिकाको कार्यालय भवनलाई आगामी दिनमा प्रदेश कार्यालय बनाउने बताउनुभएको छ ।

लेखनाथमा रहेको नमस्ते पार्टी प्यालेस प्रालिले आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले वर्तमान सरकार दूरदर्शी नहुँदा प्रदेशका अन्य कार्यालयहरु साविक लेखनाथमा ल्याउन नसकिएको बताउनुभयो । साविक लेखनाथ नगरपालिका महानगरमा गाभिएपछि अहिले त्यसको सम्पत्ति पनि स्वतः महानगरपालिकाको मातहतमा आएको छ । नगरपालिकाको कार्यालय रहेको करिब ३७ रोपनी जग्गा अहिले उपयोग विहीनजस्तै बनेको छ।

५६ जना प्रदेशसभा सदस्य बस्ने हल बनाउन पर्याप्त मात्रामा जमिन रहेको छ । ‘हामी हाम्रो कार्यालय प्रदेश कार्यालय सञ्चालनका लागि दिन तयार छौं भनेर महानगरपालिकाले पहिले निर्णय गर्नुपर्छ, महानगरपालिकालाई निर्णय गर्न सजिलो होस भनेर हामीले महानगरलाई पत्र लेख्दैछौं,’ सांसद अधिकारीले भन्नुभयो । अहिलेको सरकारको इच्छाशक्ति भएको भए प्रदेशप्रमुख लगायतका कार्यालय लेखनाथमा नै बनाउन सम्भव हुने अधिकारीको भनाइ छ ।

तर लेखनाथ क्षेत्रलाई पछि पार्ने गरी कार्यालय राख्ने महत्वपूर्ण निर्णय हुन दिइएन । यस्ता काम नगरी भूपू सांसदलाई पैसा बाँड्ने योजना बनाएर राष्ट्रिय ढुकुटी रित्याउन लागि परेको उहाँले आरोप लगाउनुभयो । यस क्षेत्रमा सडक, कृषि, शिक्षा, स्वास्थ्य, पुल, लगायतका भौतिक पूर्वाधार निर्माणका लागि विकास सरोकार समिति बनाएर रणनीतिक योजनाका साथ अघि बढ्न सांसद अधिकारीले सुझाव दिनुभयो ।

कास्कीबाटै निर्वाचित प्रदेससभा सदस्य दीपक कोइरालाले सबैको सहयोगले लेखनाथ क्षेत्रको विकास निर्माण, समृद्धि र रोजगारीका कामलाई अगाडि बढाउने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here