लुभूमा महालक्ष्मी महाभैरव जात्राको रौनक

ललितपुर,  १९ वैशाख–  ललितपुरको लुभूमा महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ ।  एक सातासम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, कुमारी, कुमारलगायतलाई खटमा राखेर बाजागाजासहित नगर परिक्रमा गराउने चलन छ ।

भगवती लाछी टोल, पिङ टोल, देवीस्थान चौर, बसपार्क, नासल टोल क्वलाछी, नारायण देवल र घसी टोलमा परिक्रमा गराइन्छ । रातो मत्स्येन्द्रनाथको रथ जात्रासँगै लुभूको महालक्ष्मी महाभैरवको जात्रा पनि सुरु हुने गर्दछ ।

रातो मत्स्येन्द्रनाथको रथमा भैरवको प्रतीकका रूपमा चारमध्ये अगाडिको दायाँ पाङ्ग्रालाई लुभूको भैरवका रूपमा पुजिन्छ ।  त्यसैले रातो मत्स्येन्द्रनाथको जस्तै लुभूमा खटयात्रा गरी जात्रा मनाउने परम्परा छ ।
रातो मत्स्येन्द्रनाथको रथारोहणसँगै सुरु हुने यो जात्रा आठ दिन चल्छ ।  सोही क्रममा आफन्त, साथीभाइ, छोरीचेलीलाई निमन्त्रणा गरी भोज खुवाउने चलन छ ।  जात्रा सकिएलगत्तै महालक्ष्मी र महाभैरवको खटबाट लक्ष्मी, कुमार, कुमारी र भैरवलाई महालक्ष्मी मन्दिर प्रवेश गराइन्छ ।
आकाश भैरवलाई कोतपूजापछि सेलाउन लाने भन्दै नगरबाहिर लगेर फाल्न लाने पनि परम्परा छ ।  स्थानीय समुदायमा महालक्ष्मी र महाभैरव सिन्दुरे जात्राका रूपमा समेत परिचित छ ।

ललितपुर लामाटार, टीकाथली, चाँगाथली, लुभूवासीले अक्षय तृतीयाका दिनदेखि एक सातासम्म जात्रा मनाउने गर्छन् ।  अष्टमीका दिन जात्रा मनाउनेले लुभूमा विराजमान गराइएको महालक्ष्मी र गणेशको भव्य पूजा गर्ने गर्दछन् ।  यस दिन गणेशलाई बोका बलि दिने प्रचलन पनि छ ।
कतैकतै यो जात्रा पाटनका राजा हरिहर मल्लले सुरु गराएको भन्ने इतिहास पनि छ ।   जात्राको पहिलो दिन भगवती लाछी, दोस्रा दिन देवीस्थान, तेस्रो दिन गोभ्रटारेश्वर महादेव प्राङ्गण, चौथो दिन नासल तगटु, पाँचौँ दिन सरकारी पूजाआजाका लागि कोयलाछी, छैटौँ दिन इँटाटोल नारायण देवल मन्दिर, सातौँ दिन महालक्ष्मी मन्दिर अगाडि र आठौँ दिन भगवती मन्दिर अगाडि पूजा गरी भोलिपल्ट बाजागाजासहित देवीदेवतालाई भिœयाउने परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here