ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

एजेन्सी–२१ चैत, स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्। गएराति भएका खेलमा रियल मड्रिडले अल्भेसलाई ३–० ले पराजित गरेको हो। रियल मड्रिडका लागि करिम बेन्जिमा, इस्को र नाचो फर्नान्डेजले गोल गरे।
घरेलु मैदानमा सान्टियागो बर्नबाउमा भएको खेलमा रियलले ३१ औं मिनेटमा बेन्जिमाको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा थप दुई गोल ग¥यो ।
खेलको ८५ औं मिनेटमा इस्कोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। यस्तै खेलको ८८ औैं मिनेटमा नाचोले गोल गरेपछि रियल अलभेसमाथि ३–० को जित निकाल्न सफल भयो ।
यस्तै अर्को खेलमा बार्सिलोनाले ग्रानाडालाई ४–१ गोल अन्तरले पराजित गरेको छ। खेलको ४४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। तर, खेलको ५० औं मिनेटमा ग्रानडाका लागि बोगाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए ।
यस्तै खेलको ६४ औं मिनेटमा पाकोले गोल गर्दै बार्सिलोनालाई फेरि २–१ को अग्रता दिलाए। यस्तै ८३ औं मिनेटमा इभान राकिटिज र इन्जुरी समयमा नेमारले गोल गरेपछि बार्सिलोना ४–१ को जित निकाल्न सफल भयो।
ला लिगाका अन्य खेलमा भ्यालेसियाले डिपोर्टिभोलाई ३–० ले पराजित गरेको छ भने सेभिल्ला स्पोर्टिङ गिजोनसँग गोलरहित बराबरीमा रोकिएको छ ।
जितपछि २८ खेलबाट ६८ अंक जोडेको रियल मड्रिड तालिकाको शीर्ष स्थानमा कायमै छ। २९ खेल खेलेको बार्सिलोना ६६ अंकका साथ दोस्रो स्थानमा छ रहँदा समान खेलबाट ५८ अंक जोडेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here