ललितपुरमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत

काठमाडौं –२६ चैत, ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ ।

चैत १८ गते साँझ दाइसँग झगडा गरी डेराबाट निस्किएकी सप्तरीको कञ्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राति बालकुमारी बसपार्कमा रोकिराखेको बसभित्र बलात्कार गरेको प्रहरीले जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ।

राति साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए । सागर बा.१ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन् । घर छाडी बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले घर पुग्ने बससम्म लगिदिने भन्दै फकाएका थिए ।

त्यसपछि नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए । ‘ललाइ-फकाइ गरेर घर पुग्ने बससम्म पुर्याइदिन्छु भनेपछि ती युवती मानिछन् र सागरले भनेअनुसार गर्दै गइछन्’, प्रहरीले जानकारी दियो ।

मध्यरातमा जबर्जस्ती गरेपछि युवती चिच्याएको र नजिकका मान्छे जम्मा भएपछि सागर फरार भएको पाइएको छ’, ललितपुर प्रहरी परिसरका डीएसपी ईश्वर कार्कीले भन्नुभयो । चक्रपथ गुड्ने उक्त गाडी काम सकेर बालकुमारीमा पार्किङ गरेर राखिएको थियो ।

घटनालगत्तै सागर भागेर सिन्धुपाल्चोक पुगेका थिए । लगनखेल बस्दै आएका ३१ वर्षीय सागर अविवाहित हुन् । ती युवती बालकुमारीमा दाइसँग बस्दै आएको र दुई दिनअघि मात्र काठमाडौं आएको प्रहरीले जनाएको छ ।प्रहरी बसको मालिकमार्फत सागरसम्म पुगेको थियो । पीडित युवतीको मेडिकल रिपोर्ट आउन बाँकी छ । उनलाई प्रहरीले सिभिनमा राखेको छ । किशोरीका दाइ भने फरार छन् ।

प्रहरीको एक तथ्यांकअनुसार २०६८ देखि चार वर्षको अन्तरमा ललितपुरमा मात्र ६३ वटा बलात्कारका घटना भएका थिए । जसमा दुईवटा सामूहिक बलात्कारका घटना थिए भने एउटा चोरीको क्रममा भएको थियो । गत फागुन १५ गते च्यासलमा नौ वर्षीय बालिका बलात्कृत भएकी थिइन् ।

गत आर्थिक वर्षमा देशभर एक हजार ८९ वटा जबर्जस्ती करणीका मुद्दा र चार सय ५२ वटा जबर्जस्ती करणी उद्योगका मुद्दा दर्ता भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here