लगानी सम्मेलनलाई मध्यनजर गर्दै राजधानीको सुरक्षा अबस्था कडा,७ हजार बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं,१४ चैत । काठमाडौंमा भोलीदेखि दुईदिन चल्ने अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई मध्यनजर राख्दै सरकारले सुरक्षा अबस्था मजबुद बनाएको छ । शुक्रबार र शनिबार नेपालमा हुन लागेको दुईदिने अन्तराष्ट्रिय सम्मेलनकालागि ७ हजार बढी सुरक्षाकर्मी खटिने भएका छन् ।

सम्मेलनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने भएका हुन् । सुरक्षाका लागि नेपाल प्रहरीबाट ४ हजार २ सय, सशस्त्र प्रहरीबाट १ हजार ८ सय र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको हो । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत परिचालन हुने सुरक्षा निकायले जनाएका छन् ।
सुरक्षाका लागि लगानी सम्मेलन आयोजना हुने स्थल, सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुना बसोवास गर्ने होटल, पाहुनाले प्रयोग गर्ने सडक, सडकमा पर्ने पुलसहित अन्य सम्भावित सुरक्षा जोखिम भएका क्षेत्रमा सुरक्षाकर्मी परिचालित हुनेछन् ।

सम्मेलन हुने स्थल होटल सोल्टीमा सशस्त्र प्रहरीसहित नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोलीले सुरक्षा दिनेछ । यस्तै, सम्मेलनमा सहभागी हुन आउने पाहुनाको बसोवास हुने होटल र सडकको पट्रोलिङ सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली परिचालन हुनेछ ।

यसैगरी, सो सडकखण्डमा पर्ने पुल तथा सम्भावित सुरक्षा जोखिम रहने स्थलमा पर्ने स्थानमा सशस्त्र प्रहरीको विशेष टोली परिचालन हुनेछ । राष्ट्रिय अनुसन्धान विभागले सम्मेलनको सुरक्षार्थ आफ्नो इन्टेलिजेन्स जनशक्ति प्रयोग गर्ने जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले नेपाल प्रहरी, ट्राफिक प्रहरी र सादा पोसाकका प्रहरी गरी ४ हजार २ सयको संख्यामा नेपाल प्रहरी परिचालन गरिने बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी एवं प्रवक्ता श्यामलाल ज्ञवालीका अनुसार राजधानी भित्रिने सबै नाकामा समेत प्रहरीले चेकजाँचलाई कडा बनाएको बताउनुभयो । गृह मन्त्रालयले देशका सबै सुरक्षा अंगलाई सम्मेलनका लागि सुरक्षा बजबुत बनाउन निर्देशन दिइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा चीन, भारत, म्यानमार, जापान, दक्षिण कोरिया, ओमन, अमेरिका, श्रीलंकालगायत ४० राष्ट्रका ६ सय बढी लगानीकर्ताको सहभागिता रहने बताइएको छ भने ३ सय बढी स्वदेशी लगानीकर्ता सहभागी हुनेछन् । यसैगरी, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजी क्षेत्र, गैरआवसीय नेपालीसमेतको सम्मेलनमा सहभागिता रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here