रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री

रोल्पाका सामुदायिक विद्यालय प्रविधिमैत्री हुन थालेका छन् । पछिल्ला प्रविधिको उपयोग गर्दै विद्यालयको शिक्षण सिकाइलाई उपलब्धिमूलक बनाउन भन्दै यस्ता प्रविधिको प्रयोग हुन थालेको हो ।

जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माविले डिजिटल हाजिरीको शुरुवात गरेको छ । यसै महीनाबाट आरम्भ गरिएको डिजिटल हाजिरीबाट शिक्षक कर्मचारीलाई विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यालयले अपेक्षा गरेको छ । शिक्षक समयमै उपस्थित हुने, पूरा समय अध्यापन गर्ने कार्य गरे शैक्षिक सुधारका धेरै सूचक पूरा हुन्छन् विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले भन्नुभयो ।

शिक्षकको दैनिक उपस्थितिलाई नियमित गर्न डिजिटल हाजिरी तथा कक्षा अनुगमनका लागि सिसी क्यामेराको व्यवस्था गरेका छौँ प्राचार्य पोख्रेलले भन्नुभयो । शिक्षकको नियमितता हुने बित्तिकै विद्यालयको पठनपाठनमा धेरै सुधार हुन्छ ।

सो विद्यालयले मल्टी मिडियाको प्रयोगबाट उपल्ला कक्षा पढाउने कार्यको थालनी गरेको छ । हाल कम्प्युटर कक्षा मल्टीमिडिया प्रयोग गरेर पढाउन शुरु गरेका छाँै कम्प्युटर शिक्षक भुवन श्रेष्ठले भन्नुभयो । आगामी दिनमा अन्य विषयलाई समेत मल्टीमिडियाबाट अध्यापन गराउने बताइएको छ ।

जिल्लाका अन्य सामुदायिक विद्यालयले पनि प्रविधिलाई जोड दिन थालेका छन् । रोल्पा नगरपालिका–७ मा रहेको मावि कोटगाउँले समेत कक्षा अनुगमनका लागि सिसी क्यामेरा जडान गरेको छ । माथिल्ला कक्षामा सिसी क्यामेरा जडान गरेर दैनिक कक्षा अनुगमन गरेको विद्यालयले बताएको छ । सुनिल स्मृति गाउँपालिका–४ नम्बर वडा कार्यालयले वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल थालेको वडाध्यक्ष गंज क्षेत्रीले जानकारी दिनुभयो । वडाभित्र रहेका तीन वटै सामुदायिक विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गर्न लागिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

विद्यालयमा शिक्षक १० बजे अगावै उपस्थित हुनुपर्नेमा त्यसो नदेखिएकाले डिजिटल हाजिरीपछि शिक्षकको उपस्थितिलाई नियमितता गर्न सघाउ पुग्ने छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले समेत गाउँपालिकाका पाँच विद्यालयमा डिजिटल हाजिरीको व्यवस्था गरिदिएको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here